आजदेखि ए डिभिजन लिग : के भन्छन् ९ प्रशिक्षक ?
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ । यस चरणका एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ ।
यस्तै शनिबार तीन खेल हुनेछन् । एक खेल एन्फामा हुँदा दुई खेल दशरथ रंगशालामा हुनेछ । नेपाल पुलिस क्लब र सातदोबाटो एन्फामा १ बजे भिड्दा लिग लिडर मछिन्द्र फुटबल क्लबले सोही समयमा च्यासल युथ क्लबसँग दशरथ रंगशालामा सामना गर्नेछ । साँझ पौने ५ बजे त्रिपुरेश्वरमै हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, दशौं चरणको अन्तिम दिन तथा आइतबार दुई खेल हुनेछन् । दुबै खेल दशरथ रंगशालामा हुँदा १ बजे दिउँसो न्युरोड टिम एनआरटीले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यस्तै साँझ पौने ५ बजे हुने खेलमा एपीएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दशौं चरणको पूर्वसन्ध्यामा एन्फाले गरेको पत्रकार सम्मेलनमा १४ मध्य नौ टिममा प्रशिक्षकको उपस्थित रह्यो । कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीका भने कुनै पनि प्रतिनिधि उपस्थित भएनन् ।
के भन्छन् क्लबका प्रशिक्षकः
समिर बिष्ट
सहायक प्रशिक्षक, ब्रिगेड ब्वाइज क्लब
फ्रेन्ड्सविरुद्ध खेल फाइनल जस्तै हो । निकै महत्वपूर्ण छ । बीचमा लामो समय भएकाले तयारी पनि राम्रो छ । टिममा सुधार भएको छ । जित बाहेक अन्य विकल्प छैन । विपक्षी बलियो भएको छ । हाम्रो कमी कमजारी औंल्याएका छौ ं। हामीले कसरी जाने भनेर टिम प्लान बनाएका छौं।
मृगेन्द्र मिश्र
प्रशिक्षक, फ्रेन्ड्स क्लब
बीबीसीविरुद्ध महत्वपूर्ण खेल छ । जित निकाल्नको लागि खेल्ने हो । हार्याै भने ९९ प्रतिशत रेलिगेशन हो । त्यसैले जसरी पनि जित्नुपर्छ । कप्तान (प्रकाश बुढाथोकी) ठिक भएको छैन। एक दुई जना नयाँ खेलाडी थपेका छौं ।
किशोर केसी
प्रशिक्षक, जावलाखेल युथ क्लब
आर्मी बलियो टिम हो । हाम्रो १० दिनको तयारी राम्रो छ । अभ्यास ठिक छ । हामी आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौ । उनीहरुको ३–३–४ रणनीतिमा खेल्छन् । हामी १–४–१–४ ले रोक्ने प्रयास गर्नेछौ । अमिर श्रेष्ठको व्यवस्थापनसँग कुरा भएको होला । बाँकी खेल पनि खेल्दैन । जति खेलाडी छन् त्यसलाई प्रेरणा दिएर अघि बढ्ने सोच रहेको छ ।
राजु तामाङ
सहायक प्रशिक्षक, त्रिभुवन आर्मी फुटबल क्लब
तयारी राम्रो छ । नवौं चरणको ब्रेकमा खेलाडीमा उर्जा बढेको छ । पोखरामा (आहा रारा) राम्रो गर्न सकेनौं । अहिले टिम लयमा छ । सन्तोष तामाङको चोट ठिक भएको छ । दिनेशको अपरेसन भएको छ र रेष्टमा छ । बिपक्षी जावलाखेल राम्रो टिम हो। लिगको दौरान उसले उत्कृष्ट प्रदर्शन दिएको छ । उसमा विदेशी पनि छ । टिमवर्क पनि राम्रो छ ।
मेघराज केसी
प्रशिक्षक, सातदोबाटो युथ क्लब
एक महिनामा एक हप्ता विश्राम दिएर अभ्यास भएको छ । हामीले यतिबेला एउटा टिमको स्तर राख्ने बेला भएको छ । यति खेलिसकेपछि शीर्ष पाँचमा बस्छ कि भन्ने बेला आएको छ । हामी शीर्ष चारमा बस्नका लागि कोसिस गर्नेछौं । मौरिससविरुद्ध चार खेलाडीले अवसर पाए र अनुभव पनि पाए । यसले टिमलाई फाइदा पुर्याउँछ ।
उर्जन श्रेष्ठ
प्रशिक्षक, थ्रीस्टार क्लब
तयारी राम्रो छ । बीचमा विश्राम पनि पायौँ। मनाङ राम्रो टिम नै हा । दुवै राम्रो टिम छन् । यि दुई टिमको सधै बराबरी नै हुन्छ । इतिहास हेर्ने हो भने थ्रीस्टारले मनाङलाई धेरै हराएको रहेछ । हामी शीर्ष चारमा आएका छौं । त्यसका लागि संकटालाई हराएका छौं । मनाङविरुद्ध आयुष घलान ठिक छ । अनन्तको फिक्स भएको छैन । भोलिसम्म फिजियोसँग सल्लाह गरेर हामीले हेर्नेछौं । साथै कप्तान विक्रम लामाको पनि ढाडको समस्या देखिएको छ । बिक्रम पनि खेल्न सक्दैनन ।
युगल किशोर राई
प्रशिक्षक, हिमालयन शेर्पा क्लब
एनआरटीसँग को लागि तयारी राम्रो छ । टेबल हेर्ने हो भने एक मिस हुँदा नै सबै टिम तल जाने स्थिति छ । शीर्ष छ स्थानदेखि तलको टिमलाई गाह्रो छ । अन्तिम समय तालिकामा दशौं स्थानमा अन्त्य गरेका थियौं । बीचको विश्रामले खेलाडीको दिमाख ठिक भएको छ । खेलाडी फ्रेस भएका छन् । मैदान पनि राम्रो छ । टिममा चोट लागेका खेलाडी खास छैनन्। कमल थापा एकजनालाई चोट लागेपनि बाँकी ठिक छन्। मछिन्द्रका मेसुके (विदेशी) ले पोखरामा राम्रो खेल पनि मलाई दबाब छैन । मोफसलको खेल र लिगमा फरक हुन्छ । त्यसले पनि दबाब छैन। एनआरटीका मेसुके, स्टेफन र दर्शन अहिले उच्च लयमा छन् ।
रत्न काजी महर्जन
सहायक प्रशिक्षक, एपीएफ फुटबल क्लब
संकटा क्लबविरुद्धको खेलका लागि तयारी राम्रो छ। दैनिक राम्रो हुँदै छ। आहाराराको उपाधिसँगै खेलाडीको मनोबल उच्च छ। एपीएफले ६४ सालमा पहिलो पटक फाइनल पुगेको थियो । तर यो वर्ष हामीले जित्यौं । खेलाडी उर्जावान भएका छन् । पछिल्ला १० खेल हारेको छैन । त्यसैले पनि सकारात्मक भएको छ । हामी जित्न सक्छौं भन्ने प्रेरणा आएको छ। लिगमा हामीले सुरुमै चार देखि आठ स्थानसम्म जाने भनेर टिम बनाएको थियौं । सुपर सिक्समा जाने लक्ष्य छ। त्यसका लागि आइतबारको खेल जित्नु पर्छ ।
प्रवेश कटुवाल
प्रशिक्षक, मछिन्द्र फुटबल क्लब
तयारी राम्रो छ । एक हप्ताको ब्रेकमा टिम राम्रो भएको छ । आईतबारबाट तयारी गरेका छौं । खेलाडीमा थकान थियो । यो ब्रेक आवश्यक पनि थियो । लिगमा सबै बिपक्षी उस्तै हुन् । लिगको पछिल्लो तालिका निकै ब्यस्त छ । एक हप्ता पछि सक्काएको भए हुन्थ्यो । हिजो पुलिसभन्दा च्यासलले राम्रो खेलेको छ । दुबैको लागि यो खेल महत्वपूर्ण छ । एउटालाई टप र अर्काेलाई रेलिगेशन बच्नुपर्ने हुँदा राम्रो म्याच हुन्छ । च्यासलविरुद्ध जित निकाल्दा मनाङ र थ्रीस्टारको खेल हाम्रो अनुकुल भए उपाधिका लागि झन राम्रो हुन्छ । अवको खेलमा नुर्लान (विदेशी) खेल्दैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया