फुटबल

'डोन्‍नारुम्मा विश्वकै उत्कृष्ट गोलरक्षक'

इकागज |
माघ ३, २०७७ शनिबार ७:५१ बजे

काठमाडौं : ज्लाटन इब्राहिमोभिचले अर्को सिजन एसी मिलानमा रहने वा नरहने भन्‍ने विषयमा अहिले नै केही भन्‍न नसकिने बताएका छन् । मिलानसँगको आफ्नो भविष्य जारी सिजनको अन्त्यमा मात्रै टुङ्गो लाग्‍ने स्विडिस स्ट्राइकरको भनाई थियो । 

‘म स्वास्थ्यले साथ दिउन्जेल खेलिरहनेछु । अहिलेका लागि जारी सिजनको अन्त्य बलियो ढङ्गले सम्पन्‍न गर्ने मेरा लक्ष्य हो । सिजनको अन्त्यमा म क्लबसँग छलफलमा बसेर के गर्ने भन्‍नेमा निर्णय लिनेछु । सुरुमा मैले मिलानसँग छ महिनाका लागि मात्रै सम्झौता गरे । त्यसपछि लम्बाए । फेरी पनि लम्बाउन सक्नेछु । तर अहिले नै केही भन्‍न सक्ने अवस्था छैन ।’ ३९ वर्षीय स्ट्राइकरले फुटबल इटालियासँग कुरा गर्दै भने ।


गत जनवरीमा मिलान आएका इब्राहिमोभिचले यस सिजन सात खेलमा १० गोल गरिसकेका छन् । चोटका कारण आठ खेल गुमाएका इब्राहिमोभिचले सिरी ए मा खेलेका प्रत्येक खेलमा गोल गरेका छन् । १७ खेलबाट ४० अंक बटुल्दै लिगको शीर्षस्थानमा रहेको मिलानका लागि इब्राहिमोभिचको उपस्थिती महत्वपूर्ण रहेको छ ।

मिलानले पछिल्लो पटक लिग जित्दाका मुख्य हतियार रहेका इब्राहिमोभिच १० वर्ष पछि सान सिरो फर्कदा उस्तै लयमा छन् । गएका वर्षहरुमा संर्घषरत रहेको मिलान टिम यसपटक युभेन्टस, इन्टर मिलान जस्ता क्लबहरु भन्दा बलियो देखिएको छ । स्टेफियानो पिओलीको नेतृत्वमा रहेको मिलानमा अधिंकाश खेलाडी युवा भएकाले पाका इब्राहिमोभिचले टिममा सन्तुलन ल्याएको फुटबल विश्लेषकहरुको भनाई छ ।

फरक प्रसंगमा इब्राहिमोभिचले जियानलुईगी डोन्‍नारुम्मा विश्वकै उत्कृष्ट गोलरक्ष भएको बताए । ‘म उनलाई सिधै भन्दिन तर उनी विश्वकै उत्कृष्ट गोलरक्षक हुन् । उनले आफुलाई निरन्तर सुर्धादै जानुपर्छ । उनले च्याम्पियन्स लिग खेल्न पाएका छैनन् । त्यसैले उनले त्यस्तो उच्च स्तरको प्रतियोगिता खेल्ने सपना बोक्नुपर्छ’ इब्राहिमोभिचले भने ।

२१ वर्षीय गोलरक्षकले मिलानका लागि दुई सय २५ खेल खेलिसकेका छन् । सन् २०१५ मा १६ वर्षको उमेरमा मिलानका लागि डेब्यु गरेयता डोन्‍नारुम्मा क्लबको पहिलो रोजाइको गोलरक्षक रहँदै आएका छन् । त्यस्तै इटालीको राष्ट्रिय टोलीका लागि पनि उनले निरन्तर खेलिरहेका छन् । यसै सिजनको अन्त्यमा मिलानसँगको सम्झौता सकिने भएकाले डोन्‍नारुम्मा चेल्सी, पेरिस सेन्ट जर्मेन लगायतका ठूला क्लबहरुसँग जोडिँदै आएका छन् । जारी सिजनमा इब्राहिमोभिच जस्तै महत्वपूर्ण खेलाडी रहेका डोन्‍नारुम्मालाई सान सिरोमै राख्‍न मिलानले प्रयास गरिरहेको छ ।


Author

थप समाचार
x