सुशासन

सामुदायिक वनको रकम हिनामिना, पाँच जनाविरुद्ध मुद्दा दायर

इकागज |
जेठ ११, २०७९ बुधबार १७:४९ बजे

काठमाडौं – मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरी भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र उक्त कामको लेखा परीक्षण गर्ने सिबि बस्नेत एण्ड एसोसिएट्सका प्रोपाइटर चन्द्रबहादुर बस्नेतलाई विपक्षी बनाई भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।


उनीहरुविरुद्ध २८ लाख ८० हजार ५९६ रुपैयाँ बराबरको बिगो र जरिवाना मागदाबी लिँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हाे । बुधबार अख्तियारले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक र लेखा परीक्षक समेतलाई भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारको अभियोगपत्रमा तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीले ९ लाख ७७ हजार ३४९ रुपैयाँ, तत्कालीन सचिव देविन्द्र कार्कीले ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकालले ७ लाख २ हजार ३४९ रुपैयाँ र तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलले ३ लाख ८४ हजार १४९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी लिइएको छ ।

अख्तियारका अनुसार मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय नगरी आफूलाई लाभ हुने र समूहलाई हानी पुराउने गरी काम गरेको अभियोग लगाइएको छ ।

समूहका तत्कालीन पदाधिकारीहरुले आफूखुसी मुल्य अवमूल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता कार्य गरेको र सोबाट २८ लाख ८० हजार ५९६ रुपैयाँ हानी नोक्सानी तुल्याएको अभियोग लगाई सोही रकम बमोजिमको बिगो र जरिवानाको मागदाबी गरिएकाे छ ।


Author

थप समाचार
x