सुशासन

पूर्व वडाध्यक्ष र प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
जेठ १६, २०७९ सोमबार १७:० बजे

काठमाडाैँ – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दैलेख आठविस नगरपालिकाका वडा नं. ८ का पूर्व वडाध्यक्ष तथा गणेश आधारभूत विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

अख्तियारका अनुसार गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका पूर्व वडाध्यक्ष मुक्तिप्रसाद उपाध्याय,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालय व्यवस्थापन समितिका सदस्य सचिवसमेत रहेका प्रधानाध्यापक अनिलकुमार शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।


उनीहरुविरुद्ध गलत लिखत गरी भ्रष्टाचार गरेकाे आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएकाे प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

उनले भने, 'विद्यालयमा आई.सी.टी.व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/०७७ मा सामान खरिद गर्न भनी उहाँहरुले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी भुक्तानीको लागि आठविस नगरपालिका, दैलेखमा रकम माग गरेको अनुसन्धानबाट खुलेकाे छ।'

उज्यालो सोलार वितरण कार्यक्रमको रकम भुक्तानीको वहाना गरी आर्थिक वर्ष २०७६।०७७ मा उक्त विद्यालयमा आई.सी.टी.व्यवस्थापनको लागि विद्यालयमा बजेट विनियोजन नै नभएको अवस्थामा विभिन्न मितिमा आई.सी.टी. व्यवस्थापन गर्न सोलार खरिद गर्न कोटेशन आव्हान गर्ने, कोटेशन छनौट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झुट्टा बिल कागजात तयार गरी जिल्ला दैलेख, आठबिस नगरपालिका वडा नं. ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम भुक्तानीको लागि नगर कार्यपालिकाको कार्यालयमा पेस गरेकाे अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ ।

उनीहरुले ४ लाख ९८ हजार रकम भुक्तानी लिने उद्देश्यले सरकारी रकम हिनामिना गरी गैरकानूनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको पुष्टि भएकाे  प्रवक्ता भण्डारीले बताए ।


Author

थप समाचार
x