सुशासन

सवारीलाइसेन्स परीक्षाको नतिजा घोटाला गर्ने १९ कर्मचारीविरुद्ध मुद्दा

इकागज |
चैत २६, २०७७ बिहिवार १७:४ बजे

काठमाडौं : नेपालगञ्‍जको भेरी यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गर्ने १९ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीले दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको पत्ता लाग्यो । परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरेको अनुसन्‍धानमा खुलेको छ ।


तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेलले चालक अनुमतिपत्रको लागि लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशनसम्मको कार्यको जिम्मा पाएकोमा लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरे ।

तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देवकोटाले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेका थिए ।

 


Author

थप समाचार
x