सुशासन

हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक खट्न प्रहरी कर्मचारीलाई गृहमन्त्री खाणको निर्देशन

इकागज |
साउन ३१, २०७८ आइतबार १८:३२ बजे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयमा रहेको पोलीग्राफ सेक्सन, डिजिटल फरेन्सिक ल्याव, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी कामकारबाहीबारे जानकारी लिए ।

सो क्रममा उनले प्रहरी र सरकार एउटै सिक्काका दुई पाटा भएको बताउँदै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाउन निर्देशन दिए । जनताको जीवन रक्षा गर्न र संविधानको पालनामा प्रहरीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।  आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणका लागि गम्भीरतापूर्वक खट्न पनि उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।


निरीक्षणपश्चात गृहमन्त्री खाणले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई सम्बोधन गरे। सरकारले ल्याएको साझा कार्यक्रमको कार्यान्वयनमा प्रहरी कर्मचारी प्रतिबद्ध भएर लाग्नसमेत उनले प्रहरीका सबै निकायलाई निर्देशन दिए । निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका मन्त्री खाणलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित प्रहरी वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए ।   


Author

थप समाचार
x