सुशासन

वडाध्यक्षविरुध्द भ्रष्टाचार मुद्दा

इकागज |
मंसिर २८, २०७७ आइतवार १६:१८ बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला रोहिणी गाउँपालिका-२ का वडाध्यक्ष सरोजकुमार पाण्डेविरुध्द सेवाग्राहीबाट २० हजार रुपैयाँ घूस लिएको अभियोगमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसमा घूस दिने सहकारीका अध्यक्षलाई पनि आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । दुवै विरुध्द भ्रष्टाचारको रकम जफ्त, जरिवाना र कैद सजायँको दाबी लिएको छ ।

वडाध्यक्ष पाण्डे घूस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’मा परेका थिए । आयोगका अनुसार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश-५ बाट कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत रोहिणी गाउँपालिकालाई २ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । उक्त रकम बालीको उत्पादन र उत्पादकत्व बृध्दिमा बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन गर्ने योजना थियो । 


आयोगको दाबीनुसार, नियमानुसार छनौट भएको विराट कृषि सहकारी संस्था लिमिटेडलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन सहजीकरण गरी दिएवापत कमिसनको रूपमा ४५ हजार घुस मागेका थिए । सेवाग्राहीलाई त्रास देखाउँदै २० हजार घूस वडाध्यक्ष पाण्डेले लिएका थिए ।

बिराट कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा निवेदक श्यामबचन यादव फँसेका छन् । उनले वडाध्यक्ष पाण्डेलाई घूस बुझाएको अभियोग लागेको छ । यादवले घूस वापतको उक्त रकम कार्यालयबाट बुझी लगेका थिएनन् । उनले आफ्नै पैसा बुझाएका थिए । उक्त रकम पाण्डेलाई दिनु पूर्व आयोगलाई जानकारी नदिएको जिकीर आयोगको छ ।
 


Author

थप समाचार
x