इन्टेग्रिटी आइकन, २०२१ सार्वजनिक
काठमाडौँ– एकाउन्टबिलिटी ल्याबले सन् २०२१ का लागि इन्टेग्रिटी आइकन सार्वजनिक गरेको छ । कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको भन्दै ल्याबले महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा र विभिन्न भूमिकामा रहेर निष्ठापूर्वक काम गर्नेहरूमध्येबाट इन्टेग्रिटी आइकन सार्वजनिक गरेको हो । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षजस्तै यो वर्ष पनि भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरिएको इन्टिग्रिटी ल्याबका को–फाउन्डर नारायण अधिकारीले जानकारी दिए ।
इन्टेग्रिटी आइकन सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।
सन् २०२१ का इन्टेग्रिटी आइकनमा भेरी अस्पताल नेपालगञ्ज बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन रहेका छन् ।
भेरी अस्पताल बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा अस्पतालमा कोभिड फोकल पर्सन हुन् । कोरोना भाइरस महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरेकी थिइन् । भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो । उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरेकी थिइन् । जसका कारण उनलाई इन्टेग्रिटी आइकनमा छनौट गरिएको एकाउन्टबिलिटी ल्याबले जनाएको छ ।
नवलपुर जिल्लाकी सीडीओ मनमाया भट्टराई पंगेनीले जुनसुकै विम्मेवारीमा हुँदा पनि महिलाका मुद्दा प्राथमिकतामा परेको तथा स्वास्थ्य सहायक हुँदा स्थानीय भाषा सिकेर महिलालाई स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाएको उल्लेख गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख हुँदा उनले ‘मर्यादित महिनावारी’ कार्यक्रमलाई आक्रामक रुपमा कार्यान्वयनमा ल्याएकी थिइन् । उनले अहिले १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिएर परिचालन गरेकी छिन् । यससँगै उनले ‘विकासमा सुरक्षा’ नीति प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तीव्रता पाएको उल्लेख छ ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका, मकवानपुरका कृषि अधिकृत चन्द्रकान्त चौधरीले व्यवसायिक खेती, बजार र प्रविधिसँग किसानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रूपमा आफुलाई अब्बल ढंगले प्रस्तुत गरेबापत् यो सम्मान दिइएको बताइएको छ । चौधरीले तालिम दिएका किसानले उत्पादन राम्रो गरेका छन् । उनले कृषि वस्तुको बजारीकरणको लागि कृषि सहकारीलाई कार्यान्वयनमा ल्याएका छन् । किसानलाई कारोबार गर्न सजिलो होस भन्नका लागि किसान क्रेडिट कार्ड वितरणलाई उनले प्राथमिकता दिएको उल्लेख छ । जसबाट किसानले २ लाख सम्मको कारोबार सजिलै गर्न पाएका छन् । फलस्वरुप ८ कट्ठामा खेती गर्ने किसान अहिले ८ बिगाहामा व्यवसायिक खेती गरिरहेको ल्याबले उल्लेख गरेको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतमले केही वर्ष अगाडीसम्म धरासयी भक्तपुर अस्पतालको नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको बताइएको छ । सामान्य ड्रेसिङसम्मको सुविधा मात्र उपलब्ध हुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बनेको थियो । रिफरल अस्पतालको रुपमा चिनिएको सिरहा अस्पतालको रूप फेर्न उनको योगदान रहेको बताइएको छ । जसोतसो २०–३० जना सेवाग्राही आउने खजुरा स्वास्थ्य केन्द्रमा उनी गएपछि दैनिक ३०० जति बिरामीले उपचार सेवा पाउन थालेका थिए । त्यति मात्र नभएर अहिले पनि उनलाई पच्छ्याउँदै टाढाटाढाका जिल्लाबाट बिरामीहरू भक्तपुर अस्पताल आउने गरेको भन्दै उनलाई निष्ठाका साथ आफ्नो काम गरेकोमा यो अवार्ड दिइएको ल्याबले उल्लेख गरेको छ ।
त्यसैगरी, भाषा आयोग काठमाडौँका उपसचिव डा. लोक बहादुर लोप्चनले मातृभाषा संरक्षणमा लागिपर्दै मातृभाषीलाई खोज्न मात्र पनि देशका कुना–कुना पुगेको उल्लेख छ । उनले आफ्नै व्यक्तिगत पहलमा भाषिक पहिचान सम्बन्धी नियमित प्रकाशनहरू सार्वजनिक गरिरहेकाछन् । भाषा आयोगमा आउनुपूर्व उनले जिल्ला शिक्षा अधिकारी भएर पनि काम गरेका थिए । ओखलढुंगामा उनले हरेक विद्यालय, शिक्षक, विद्याथी र विषयका लागि लक्ष निर्धारण गरेर कार्यान्वयनमा ल्याएको बताइएको छ । जसको परिणामा केही विद्यालय प्रदेशमै अब्बल ठहरिए । खोलखामा सट्टा शिक्षक राख्ने शिक्षकलाई शून्य सहनशीलताका आधारमा कारवाही गरेर उनले चर्चा पाएका थिए । पाँचथरमा मिलेमतोमा शिक्षक नियुक्ति गर्ने प्रणालीलाई हटाई परीक्षा समितिद्वारा शिक्षक नियुक्ति हुने प्रणाली डा. लोप्चनले स्थापित गरेका थिए । निष्ठाका साथ गरिएके उनको कामलाई कदर गर्दै ल्याबले उनलाई इन्टेग्रिटी आइकल, २०२१ घोषणा गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया