सुशासन

वाग्मती नदी नियन्त्रण आयोजना प्रमुखको तार घोटाला

अख्तियारले चलायो ३ करोड ६५ लाखको मुद्दा

इकागज |
पुस १३, २०७७ सोमबार १६:१८ बजे

काठमाडौं : वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवले ग्यावियन तार खरिदमा घोटाला गरेको खुलेको छ । उनीहरूले स्टुड निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण नगरी बिल भुक्तानी गरेको खुलेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले उनीहरूले प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरूको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी ग्यावियन तारलाई स्टुड निर्माणमा प्रयोग गरेको देखाएको छ । 

अख्तितियारले इन्जिनियर पाण्डवप्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले स्वीकृत गरी भुक्तानी गराएकाले तीन करोड ६५ लाख ८ हजार ४ सय ५६ रुपैयाँ ३४ पैसा बिगोदाबीसहित मुद्दा दायर गरेको छ । 

निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको स्टुड निर्माण गरी कम गुणस्तरको ग्यावियन तारबाट निर्मित स्टुड हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी दिएको अख्तियारले जानकारी दिएको छ ।

भुक्तानी लिने  महादेव खिम्ती/मैनाचुली जे.भी. का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा.लि. का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्ती/मैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदनकुमार अधिकारी पनि मुछिएका छन् ।  अख्तियारले सोमबार उनीहरूविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 



Author

थप समाचार
x