सुशासन

प्रहरीहरू अख्तियारको फन्दामा

इकागज |
कात्तिक १६, २०७७ आइतबार १८:२८ बजे

काठमाडौं : तस्करीको सामानसहित समातिएको मोटर साइकल फिर्ता गर्न घूस लिएको अभियोगमा प्रहरी नायब निरीक्षकसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानु, प्रहरी जवान रामेश्‍वर मण्डल र स्थानीय  व्यवसायीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित  नियन्त्रणमा लिएको हो ।

केही दिनअघि भारतबाट भन्सार नतिरी  भित्रिएको सामानसहित मोटर साइकल प्रहरीले समातेको थियो । उक्त मोटर साइकल प्रहरी चौकीमा राखिएको थियो । मोटर साइकल फिर्ताका निम्ती घूस लिएका हुन् । त्यो घूस स्थानीय व्यापारी जयनारायण यादवलाई राख्‍न दिएका थिए । अख्तियारले घूस राख्‍ने व्यापारीलाई पनि नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरी जवान पक्राउ

उता अख्तियारले महोत्तरीबाट सशस्त्र प्रहरी जवानलाई घूससहित पक्राऊ गरेको छ । महोत्तरी जिल्ला रामनगर सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत जवान उमेश चौहानलाई १७ हजार ६ सय रुपैयाँ घूससहित बर्दिबासबाट गएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । चौहानलाई गौशाला नगरपालिका-२ निगौल चोकमा अख्तियारको टोलीले समाएको हो ।

घरायसी प्रयोगका निम्ति काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट घूस लिएको दाबी अख्तियारको छ । अख्तियारले घूससम्बन्धमा जवानमाथि अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x