सुशासन

त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत १५, २०७८ मंगलबार १६:१२ बजे

काठमाडौं-  परीक्षाकै परिणाममा केरमेट गरी फेरबदल गर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक, सहायक प्राध्यापक र अधिकारीहरु भ्रष्टाचारको अभियोगमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक, तत्कालीन प्रशासन प्रमुखसमेत गरी ६ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले तिनीहरुविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिएको छ ।


आयोगका अनुसार, लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने, रुजु, सम्परीक्षणमा संलग्नहरुविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । आयोगको दाबीमा, तिनले अन्य व्यक्तिलाई गैरकानूनी लाभ पु¥याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि हुन आएको छ ।
 

त्रि.वि. सेवा आयोगले २०७३ फागुन १८ मा उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षाका निम्ति विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्य गरेको अभियोग लगाएको छ ।
 


Author

थप समाचार
x