सुशासन

चुनावमा चन्दा पारदर्शी बनाउन ट्रान्सपरेन्सी इन्टरनेशनलको आव्हान

इकागज |
चैत २२, २०७८ मंगलबार १२:४४ बजे

काठमाडौँ- भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय पहरेदारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आउँदो निर्वाचनमा दल वा उम्मेद्‌वारलाई चन्दा दिँदा पारदर्शी गर्न आग्रह गरेको छ । उसले मंगलबार आह्वानपत्र जारी गर्दै भनेको छ, ‘निर्वाचनको क्रममा आफूलाई मन परेका उम्मेद्‌वार वा दललाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी पार्न र निर्वाचन आचार-संहिता प्रतिकूल कुनै सहयोग नदिन पनि अनुरोध गर्छ ।’

त्यसअतिरिक्त ट्रान्सपरेन्सीले साना/ठूला सबै दल, उम्मेद्‌वारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्‍न संघ र प्रदेश सरकारहरूलाई आह्वानसमेत गरेको छ ।


ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आह्वान पत्रको पूर्ण पाठ :
नेपालको संविधानअनुसार देशका ७५३ स्थानीय तहको निर्वाचन आउँदो २०७९ साल वैशाख ३० गते हुने भएको सर्वविदितै छ । संविधानअनुसार स्थानीय तह राज्यको सबैभन्दा आधारभूत तह र आम-नागरिकको दैनिकीसँग सम्बन्धित सेवाप्रवाह गर्ने सबैभन्दा नजिकको राज्य संयन्त्र पनि हो । त्यसैले यो निर्वाचन सबै नेपालीका लागि अत्यन्त महत्वपूर्ण हुँदा निर्वाचनलाई सफल, सार्थक, निष्पक्षका साथै भय, त्रास र धाँधलीरहित स्वच्छ बनाई सम्पन्‍न गर्न/गराउन सम्बन्धित पक्षहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल यो आह्वान गर्दछ । 

सरकार
निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्दै आम-नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्ति व्यवस्था कायम राख्दै साना/ठूला सबै दल, उम्मेद्‌वारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्‍न संघ र प्रदेश सरकारहरूलाई आह्वान गर्दछ । 

निर्वाचन-आयोग 
लोकतन्त्रको आधारभूत स्तम्भहरूमध्येको एक निर्वाचन आयोग हो । निश्चित मितिमा स्वच्छ, निस्पक्ष र व्यवस्थितरुपमा निर्वाचन हुन सकेन भने लोकतन्त्रको मर्म नै समाप्त हुन्छ । आगामी स्थानीय तह निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्‍न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको हो । तसर्थ, निर्वाचन पूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त सहजरुपमा आम-मतदाताको निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउनुका साथै मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ ।

राजनीतिक दल
संविधानतः राजनीतिक दलहरू देशको शासन व्यवस्था सञ्चालनको मियो नै हुन् । स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र अन्य क्रियाकलापको महत्वपूर्ण भूमिका रहने हुन्छ । दलहरूको घोषणा-पत्र, प्रचार-प्रसारका शैली र उम्मेद्‌वार छनौट समेतले आम-मतदाता र नागरिकको अपेक्षाको आधार बन्‍ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेद्‌वारलाई छनौट गर्न (टिकट दिन), निर्वाचन आचार-संहिताअनुकूल सभ्य र शिष्ट प्रचार-प्रसारको शैली अवलम्बन गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछ । 

उम्मेद्‌वार 
निर्वाचनको क्रममा विभिन्‍न पक्षहरूको लागि विभिन्‍न दलहरूबाट भाग लिने उम्मेद्‌वारहरूले मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण प्रस्तुत गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ-लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार-संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेद्‌वारमा अनुरोध गर्दछ । 

मतदाता
निर्वाचनको निर्णायक पात्र मतदाताहरू नै हो । आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्न यो निर्णायक घडीमा आम-मतदाताले कसैको लोभ-लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न सक्नुपर्दछ । लोकतन्त्रले दिलाएको यस महत्वपूर्ण घडीमा सबै मतदाताले लोभ-लालच, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गर्न नसके पछिल्ला दिनहरूमा पश्चाताप गर्नुपर्ने हुन्छ । आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम-मतदातालाई आह्वान गर्दछ । 

चन्दादाता
निर्वाचनको क्रममा आफूलाई मन परेका उम्मेद्‌वार वा दललाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी पार्न र निर्वाचन आचार-संहिता प्रतिकुल कुनै सहयोग नदिन पनि अनुरोध गर्दछ । 

सञ्चारजगत्
लोकतन्त्रमा सञ्चारजगत्को भूमिका अहम् रहन्छ नै । अझ खुल्ला वातावरणमा फरक-फरक सञ्चार-माध्यमले प्रवाह गर्ने फरक-फरक सूचनाले आम-नागरिकलाई प्रभाव पारेको हुन्छ । स्थानीय तहको आगामी निर्वाचनको प्रत्येक चरणमा लोकतन्त्रको पहरेदारको रुपमा सञ्चारजगत्ले निर्वाचन आचार-संहिताको पालना, उपयुक्त उम्मेद्‌वार छनौट, मतदाताको भूमिका र मनोबलमा सकारात्मक समाचार सम्प्रेषण गर्न/गराउन आह्वान गर्दछ ।

लोकतन्त्रको संस्थागत सुदृढीकरणका साथै भ्रष्टाचारमुक्त र सदाचारयुक्त नेपाल बनाउनुपर्ने आजको आवश्यकता हो । भ्रष्टाचार, विसंगति र विकृति नियन्त्रण गर्न सकिएन भने समृद्ध नेपाल बनाउने सपना पनि साकार हुन सक्दैन । यसका लागि नेतृत्व वर्ग नै योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । स्थानीय तह राज्यको सबैभन्दा आधारभूत र आम-नागरिकको सरोकारसँग सम्बन्धित तह हो । जग भरपर्दो हुन नसके घर बलियो हुन सक्दैन । तसर्थ, स्थानीय तहको आउँदो निर्वाचन सबै नेपालीका लागि चासोको विषय हुनु स्वाभाविक हो । यो निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्तिमात्र निर्वाचित हुन सक्ने वातावरण बनाउन सबै सरोकारवालाहरूले सकारात्मक भूमिका निर्वाह गर्न/गराउन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल जोडदार आह्वान गर्दछ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल


Author

थप समाचार
x