बर्दियामा गोली चलेको घटनाको छानबिन हुन्छ : गृहमन्त्री खाण
फाइल फोटो
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा स्थानीयको प्रदर्शनमा गोली चलेको बिषयमा छानबिन गरिने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको र केही घाइते भएको भन्दै उक्त घटनाको छानबिन हुने बताए ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । मन्त्री खाणले आन्दोलनमा उत्रिएका नागरिकहरूमाथि गोली चलाउने आदेश नदिएकाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले जानकारी दिए । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
त्यस्तै उनले बाँकेमा भएको सामूहिक बलात्कारमा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने प्रतिबद्धता जनाए । घटनामा १६/१७ वर्षका पुरुष समेत संलग्न भएको जानकारी आएको भन्दै उनले यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने मागप्रति सकारात्मक रहेको जिकिर गरे ।
बैठकमा सांसदहरुले बर्दियामा गृहमन्त्री, सिडियोले निर्देशन नदिँदा पनि गोली चलाउनेलाई कारबाही हुनुपर्ने बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया