सरकार

आलोचनाको चाङमाथि गृहमन्त्री खाण

इकागज |
जेठ २५, २०७९ बुधबार १६:२५ बजे

फाइल तस्‍बिर

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणलाई प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले शान्ति सुरक्षासम्बन्धी सवाललाई लिएर बारम्बार जवाफ मागिरहेका छन् । उनीहरूले गृहमन्त्री खाण शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै आएका छन् । 

बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे संसद् बैठकमा एमाले सांसदहरूले गृहमन्त्री खाणसँग जवाफ मात्र मागेका छैनन्, राजीनामा समेत मागेका छन् । उनीहरूले चर्को आलोचना समेत गरिरहेका छन् । 


संसद् बैठकमा शान्ति सुरक्षाको विषयलाई लिएर गृहमन्त्री खाणको आलोचना गर्नेमध्येका एक जना एमाले सांसद हुन्, यज्ञ बोगटी । 

सांसद बोगटीले अछामको पञ्‍चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु घटनालाई लिएर खाणको आलोचना गर्दै सत्य तथ्य छानबिनको माग गरे । उनले प्रहरीले उजुरीसमेत लिन नमान्‍नुलाई सामान्य ठान्‍न नहुने पनि बताए । 

शाहीको प्रश्‍नको जवाफ दिँदै खाणले प्रहरीले उजुरी लिने बताउँदै पन्छिए । 

एमालेकै सांसद गंगा चौधरीले बर्दियामा गोली लाग्दा भएको युवतीको मृत्यु घटनाबारे संसद्‍मै प्रश्‍न गरिन्, ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्‍न गरेकी हुन् ।

खाणले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र गोली हान्‍न प्रहरीलाई आदेश पनि नदिइएको जवाफ दिए । 

घटनाको छानबिनका लागि उनले मन्त्रालयकै सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् । 

संसद् बैठक बसेपछि लगातारजस्तो गृहमन्त्री खाणविरुद्ध एमाले मात्र नभई अन्य पार्टीका सांसदहरूले शान्ति सुरक्षाको विषयलाई लिएर निरन्तर आलोचना गर्दै आएका छन् ।

फेरि, उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) बढुवामा पनि विवादमुक्त हुन सकेनन् ।  

गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै उमेर हदका कारण हाल सेवा निवृत्त अवस्थामा रहेका प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्‍वरबाबु कार्की, प्रकाशजंग कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् । 
यदपि रिटको टुङ्‍गो लाग्‍न भने बाँकी छ ।

गृहमन्त्री खाण कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेता मानिन्छन् । प्रधानमन्त्री देउवाका विश्वास पात्र भए पनि उनको ‘पर्फर्मेन्स’ भन्‍ने प्रशंसायोग्य नभएको कांग्रेसकै कतिपय नेताहरू बताउँछन् ।  

आलोचित गृहमन्त्री खाण भने प्रधानमन्त्री शेरबहादुर देउवाका विश्‍वास पात्र हुन् । २९ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गर्दा नै देउवाको रोजाइमा खाण परेका थिए । 

पहिले रक्षामन्त्री भएका उनलाई देशको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धिको विभागीय मन्त्री देउवाले बनाए पनि सरकारका सर्वाधिक आलोचित मन्त्री भएका छन् । न्युज कारखाना
 


Author

थप समाचार
x