सरकार

बाहिरी चक्रपथ बन्‍ने हो कि होइन भन्‍नेमा अन्योल छ : मन्त्री झाँक्री

इकागज |
असार १, २०७९ बुधबार १५:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी  हुन् ।

उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्‍ने हो कि होइन भन्‍नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाउँमा सरकारी भवन बनेको उल्लेख गरिन् । उनले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे ३ खर्ब खर्च हुने बताइन् । बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्याधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको जानकारी दिइन् ।


मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा ४ वटा स्याटलाइट सिटी बनाउने भनिए पनि नसकेको स्वीकार गरिन् । उनले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गरिन् । उनका अनुसार उत्तरपूर्वी इशान शहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्‍मा जाने प्रक्रियामा रहेको छ । बाँकी ३ वटा शहरको सम्भाव्यता अध्ययन कार्य जारी रहेको उनकाे भनाइ थियाे ।

मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानुन चालु आवमा संसदमा ल्याउने तयारी रहेको बताइन् । उनले यो कानुन बनेमा सडक बन्‍ने र खन्‍ने क्रम तत्काल रोकिने बताइन् । सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्ने कुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गरिन् ।

मन्त्री झाँक्रीले नगर विकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगर विकासको काम गर्ने ऐन ल्याउन लागेको पनि खुलाइन् ।  उनले उक्त कानुन मन्त्रिपरिषद्‍बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताइन् ।

यस्तै मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरुपता ल्याउन नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिइन् । उनले देशभर करिव ३२ वटा सभा हल निर्माण सम्पन्‍न हुने क्रममा रहेको र ती सभा हल सञ्‍चालनमा अन्योलता भएको बताइन् । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गरिन् ।  


Author

थप समाचार
x