साउनदेखि कैदीबन्दीले दैनिक ८० रुपैयाँ पाउने
काठमाडौँ - आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासन भत्तास्वरुप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा उक्त रकममा २० प्रतिशत वृद्धि गरी रु ८० बनाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
`कैदीबन्दीको प्रतिदिन रु ६० र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ३३ प्रतिशत वृद्धि गरी प्रतिदिन रु ८० कायम गरिएको छ`, प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, `अर्थबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन् ।`
उनका अनुसार अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमासमेत गरिनेछ । सरकारले विभिन्न कारागारमा रहेका कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ ।
उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको गृहमन्त्री खाणले बताए । `उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन् र उत्पानदमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य रहेको छ`, गृहमन्त्रीले भने ।
उनका अनुसार कारागारमा फोटोसहितको परिचयपत्र लागू गर्ने कार्य सुरु भएको र जैविक विवरणसहितको कैदीबन्दी व्यवस्थापन सूचना प्रणाली व्यवस्थापनका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया