सरकार

सरकारले भन्याे : एसपीपीबारे कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन

इकागज |
असार २, २०७९ बिहीबार १६:४१ बजे

फाइल तस्बिर

काठमाडाैँ - सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) सँग आबद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुनु हुँदैन भन्‍नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे ।

प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री खाणले भने, 'एसपीपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिवद्धता राख्‍न चाहन्छु ।'


नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उनले जानकारी दिए । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्‍भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदान-प्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उनकाे भनाइ थियाे । उनले आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षा मन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा ​एमसीसी सम्झौता सहमतिमै पास भएको र एसपीपीमा नेपालको कुनै संलग्‍नता नरहेको दोहोर्‍याए ।

उनले एमसिसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्‍ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पारे । 
प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन 
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराए। सांसदहरुले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उनले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पारे । उनले विभिन्न देशका निम्तामा प्रधानमन्त्री, मन्त्रीहरु बेलाबेलामा भ्रमणमा जाने कुरा स्वभाविकै भएको बताए ।


Author

थप समाचार
x