सरकार

बाजुराको बूढीगंगामा मतदान जारी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

इकागज |
असार २३, २०७९ बिहीबार १०:२ बजे

बाजुरा - बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमतिअनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदानस्थलमा मतदानको प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपुर्ण तरिकाले जारी रहेको छ । मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका थिए । आज पनि ठूलो स्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 


गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गए पछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।  

जारी निर्वाचनमाा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।

स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानीय तह हो । 


Author

थप समाचार
x