अर्थ मन्त्रालयको 'वेबसाइट'बाट अर्थसचिव मरासिनीको नाम र फोटो किन हटाइयो ?
काठमाडौं – अर्थमन्त्रालयको आधिकारिक ‘वेबसाइट’मा अर्थसचिवको पद खालि पारिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सम्हालेपछि देउवाकै फोटो राखिएको छ ।
बिदामा गएका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्बिर दुवै हटाएको देखिन्छ । अर्थसचिव मरासिनी सरुवा भएको वा त्यो ठाउँमा अर्काे व्यक्ति लगेको औपचारिक निर्णय भएको छैन । तर, अर्थमन्त्रालयको वेबसाइटबाट उनको नाम हटाइएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थसचिव मरासिनीका हकमा कुनै निर्णय नभएको जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्बाट अर्थसचिवका हकमा कुनै निर्णय भएको छैन ।’
अर्थ मन्त्रालयको करका दर फेरबदल र फुटेज गायब प्रकरणसँगै सचिव मधुकुमार मरासिनी बिदामा गएका थिए । उनी अर्थमन्त्री शर्मासँग काम गर्न नसकिने उल्लेख गरी बुधबार विदामा गएका हुन् ।
अपडेट : यो समाचार प्रकाशित भइसकेपछि अहिले भने मन्त्रालयको वेबसाइटमा अर्थ सचिव मरासिनीको फोटो राखिएको छ । वेबसाइटमा अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाको फोटो राख्ने क्रममा अर्थसचिवलको राख्न छुटेको मन्त्रालयका एक अधिकारीले बताए । 'थाहा पाउनेवित्तिकै अपडेट गर्यौँ,' उनले भने, 'धेरै समय खाली रहेन । प्रधानमन्त्रीको फोटो राख्ने क्रममा यसो भएको हो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया