सरकार

​मुलुकको द्रुत र आर्थिक रूपान्तरण​ सरकारको अबको गन्तव्य : प्रधानमन्त्री देउवा

इकागज |
असोज ३, २०७९ सोमबार १०:२४ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रूपान्तरण रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए । 

उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ । उनले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । 


‘अबको हाम्रो गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण हो । सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार गर्नु नै हो । सरकारले स्वास्थ्य पूर्वाधारको बिस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास भइरहेको छ,' उनले भने, 'हामीले सबै समन्वयात्मक प्रयासबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौँ भन्ने विश्वास लिएको छु । निर्वाचन लोकतन्त्रको अधारसिला हो । आगामी मंसिर महिनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गइरहेका छौँ । यसले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्नेछ भने अर्कोतिर संविधानलाई चलायमान बनाउन सहयोग पुग्नेछ ।’ 

संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि एवं नागरिकहरुलाई आग्रह गरे । उनले संविधान कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरू तर्जुमा भइ कार्यान्वयनमा आएको बताए । 

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, का.मु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।


Author

थप समाचार
x