सरकार

मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना आदर्श विद्यालयमा

बाबुराम भण्डारी |
मंसिर २, २०७९ शुक्रबार १३:४२ बजे

विराटनगर - मोरङको तीनवटा निर्वाचन क्षेत्रको मतगणना विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयमा हुने भएको छ । विद्यालयको नियमित अध्ययन अध्यापन चलिरहेको बेलामा वैकल्पिक गणनास्थल नभएको भन्दै विद्यालयमै मतगणना गर्न लागिएको हो । 

विगतका निर्वाचनदेखि नै विद्यालयको नियमित अध्ययन अध्यापनलाई रोकेर आदर्श विद्यालयलाई मतगणनास्थलका रुपमा प्रयोग गरिंदै आएको थियो । वि.सं. १९८६ सालमा स्वर्गीय कृष्णप्रसाद  कोइरालाको पहलमा स्थापित उक्त विद्यालय विराटनगरकै नमूना सामुदायिक विद्यालय हो ।


मतगणना कार्यलाई व्यवस्थित बनाउन बसेको जिल्लास्थित सुरक्षा निकायसहितको बैठकले अन्यत्र सुरक्षित नभएको भन्दै आदर्श विद्यालयमै मतगणना गर्ने निर्णय गरेको हो । निर्णय अनुसार मोरङको ६ वटा निर्वाचन क्षेत्र मध्ये ४, ५ र ६ को गणना आदर्श विद्यालयमा हुने छ ।

मतपेटिकाको सुरक्षा लगायतका बन्दोबस्ती भएको अर्को गणनास्थल नभएका कारण विद्यालयमै गणना गर्नुपरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । बाँकी रहेका निर्वाचन क्षेत्रहरू मध्ये क्षेत्र १ को उर्लाबारीस्थित उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नं. २ को रतुवामाई नगरपालिका–७ स्थित विश्व नाथ धाम मन्दिर परिसरको सामुदायिक भवन र क्षेत्र नम्बर ३ को साविक बेलबारी नगरपालिकाको पुरानो कार्यालय अर्थात हालको ३ नं. वडा कार्यालयमा हुने जनाइएको छ ।

आदर्श विद्यालयमा तीनवटा निर्वाचन क्षेत्रको प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना हुने भएपछि विद्यालयको नियमित पठनपाठन नजिकका तीनवटा विद्यालयमा गर्ने तयारी अघि बढाएको छ ।

विद्यालयमा प्राचार्य सन्तोष पोखरेलले एकै शैक्षिक सत्रमा दुईवटा निर्वाचनको मतगणना हुने भएकोले विद्यालयको नियमित पठनपाठन प्रभावित भएको बताए । गत स्थानीय तह निर्वाचनको मतगणना पनि सोही विद्यालयमा भएको थियो । विद्यालयमा विगतदेखि मतगणना हु“दै आएको र निर्वाचन जस्तो बिषयमा राज्यनै लाग्ने भएकोले विद्यालयको पठनपाठन व्यवस्थित गर्न अर्को विद्यालयहरूमा कक्षा चलाउने योजना बनाएको पोखरेलले जानकारी दिए । 

आइतबार (मंसिर ४) मतदान सकिएलगत्तै तीनवटा निर्वाचन क्षेत्रको मतपेटिका आदर्श विद्यालयमै संकलन हुनेछन् । त्यसपछि मतगणना सुरु हुने र गणना नसकिउन्जेल विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको हो । विद्यालयले कक्षा १ देखि ५ सम्मको अध्ययन अध्यापन मतगणना अवधिभर बन्द गर्ने तयारी गरेको प्राचार्य पोखरेलले बताए । बिहीबार बसेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको छलफलबाट नयाँ भवन (साइन्स ब्लक) मा कक्षा ६ देखि १२ सम्मको नियमित अध्ययन अध्यापन संचालन गर्ने र बाँकी भवन मतगणनाका लागि प्रयोग गर्ने सहमति भएको उनले जानकारी दिए ।

जतिसक्दो छिटो मतगणना गर्ने गरी सम्बन्धित निकायहरूबाट बढीमा एकसाताका लागि विद्यालयको भवन प्रयोग गर्ने आश्वासन पाएको उनले बताए । आदर्श विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ३ हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन् । 

‘एकै बर्षमा दुईवटा निर्वाचन भयो, अरु विद्यालयमा खुरुखुरु पढाइ भइराख्दा हाम्रो चैं बन्द गर्नुपर्ने अवस्था भयो’ पोखरेलले भने, ‘सिंगो राज्य लागेकोले निर्वाचन जस्तो कुरामा हामीले धेरै कुरा गर्न पनि सक्दैनौं, तर हामीले हरेक पटक समस्या भोगिरहेका छौं ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x