बिनाबर्दी गौंडा-गौंडामा बसेका छौँ, ‘आचारसंहिता छल्ने प्रयास नगर्नूस्’: आयुक्त भण्डारी
काठमाडौँ - निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको जनाएको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको जनाएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लंघन हुनसक्ने बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए ।
उनले निर्वाचन आचारसंहीतालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए । निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए । ‘विगतको तुलनामा धेरै कम आचारसंहिता उल्लंघन भएको छ । आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नुहुन्छ, त्यो सबैले बुझेका छौँ । अहिले हामी स्थिर अवधिमा छौँ । स्थिर अवधिमा अझै कडाइका साथ लागू गर्नुपर्छ,' उनले भने, 'किनभने यो बेलामा बढी भन्दा बढी आचारसंहिता उल्लंघन हुन्छ भनेर प्रतिनिधिहरूले भनिरहनुभएको छ । आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ । उहाँहरू बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ । तर बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला ।’
निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताए । उनले आयोगले आचारसंहिता कडाइबारे विभिन्न राजनीतिक दल र नेताहरूसँगको छलफलपछि नै निर्णय लिएको बताए । निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहीता लागू गरेको स्मरण गराए ।
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरूलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । उनले आम नागरिकहरूलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए । आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरे पनि यस पटकको निर्वाचनमा कुनै पनि त्यस्ता सामग्रीहरू छरपस्ट नरहेको बताए । उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए । उनले आयोगको कडाइका कारण नै दल र उम्मेदवारहरूले पनि आचारसंहिताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया