सरकार

राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिंदैनः गुरुङ

इकागज |
पुस १, २०७९ शुक्रबार १६:३२ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरूपको भिजन विपरीत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र विचारकै आधारमा दलहरू चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरूपको भिजन नभएको बताएका हुन् ।


राजनीतिक पृष्ठभूमि, विचारधारा, सिद्धान्त लगायतको मूल्यमान्यताका आधारमा नै दलका नेताहरूले मुलुक र राज्यका अंगहरूको नेतृत्व गर्न सक्ने उनकाे भनाइ छ । उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरूको विकल्प नरहेको दाबी गरे ।

गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरूलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै विचलन भएको चिन्तनको उपज भएको तर्क गरे ।

मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरूले नै सोच्नुपर्ने उनको भनाइ छ । महासचिव गुरुङले अहिले दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताए ।​

उनले नेकपा एमालेसँग सरकार गठनका विषयका कुनै कुरा नभएको स्पष्ट पारे ।


Author

थप समाचार
x