प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेस नेताहरूको दाबी
काठमाडौँ- नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क समेत गरे ।
शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरूको भेलामा सहभागी भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरे पनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वाभाविक हुने प्रतिक्रिया दिए ।
उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वाभाविक रूपमा लिने धारणा समेत राखे ।
प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए ।
सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरूबीचमा सहमति जुट्ने बताए। उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको जिकिर गरे ।
काँग्रेस नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबी समेत गरेका थिए । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया