सरकार

राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाउन आग्रह

इकागज |
पुस ७, २०७९ बिहीबार १७:११ बजे

काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति हुन लायक व्यक्तिको खोजी राजनीतिक आग्रह एवं पूर्वाग्रहभन्दा माथि उठी वस्तुनिष्ठ तवरले गर्न राजनीतिक नेतृत्व समक्ष आग्रह गरेको छ ।

सरकारका पूर्वसचिव, कानुन व्यवसायी, सञ्चारकर्मी, सुरक्षा निकायका पूर्व प्रमुखहरूले सामूहिक आव्हान पत्र जारी गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि गराउने क्षमता आर्जेका बौद्धिक वा प्राज्ञिक क्षेत्रबाट आगामी राष्ट्रपति निर्वाचित गरिनुपर्ने आग्रह गरेका हुन् ।


‘राष्ट्रपति पदको महत्व र यसले निर्वाह गर्न सक्ने भूमिका बुझेर नै होला काठमाडौंस्थित विदेशी नियोगहरूले आगामी राष्ट्रपतिको उम्मेदवार को हुँदैछन् भनेर चासो लिन थालेको देखिएको छ,’ आज जारी प्रेस विज्ञप्तिमा छ । 

उनीहरूले मुलुकको सुदूर भविष्यलाई ध्यानमा राखी काम गर्न सक्ने र राष्ट्रहितलाई भन्दा  केवल राजनीतिक दृष्टिकोणलाई प्राथमिकतामा राखेर सरकारद्वारा निर्धारण गरिने नीति एवं कार्य विरुद्ध आम नागरिकलाई सजगतासाथ सतर्क गराउन सक्ने अभिभावकको भूमिका निर्वाह गर्न सक्षम व्यक्ति राष्ट्रपति हुनु पर्नेमा ध्यानाकर्षण गराएका छन् ।

‘मुलुकको सर्वोच्च संवैधानिक पद धारण गरेको व्यक्ति राजनीतिक दल विशेषको स्वार्थ संवर्द्धन गर्ने कार्यमा संलग्न हुन र बाह्य प्रभावमा पर्नु हुँदैन भन्ने पनि ठान्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । 

छिमेकी देश भारतमा कुनै व्यक्ति राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि निजको भूमिका निष्पक्ष र सन्तुलित रहने गरेको देखिएको छ । सन् १९५० यता भएका १५ राष्ट्रपतिमध्ये सात जनाको दलगत राजनीतिक पृष्ठभूमि भएको र अन्यको थिएन । तिनमा देशलाई अभिभावकत्व प्रदान गर्ने राष्ट्रपति भनेर डा. सर्वपल्ली राधाकृष्णन र डा. ए पी जे अब्दुल कलाम आदरका साथ चर्चामा आइरहने नाम रहेको स्मरण गराइएको छ ।

‘यस्ता उदाहरणतर्फ नेपालका नेतागणको ध्यान जानुपर्नेमा गएको पाइँदैन,’ विज्ञप्तिमा छ । 

२०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीको पनि दोस्रो कार्यकाल निकट भविष्यमै पूरा हुँदैछ । सम्पन्न आम निर्वाचनपछि सत्ता सञ्चालनको जिम्मेवारी लिन सक्ने स्थितिमा पुगेका राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समेत) का नेताहरू राष्ट्रपति लगायतका कुन पद कुन पार्टीको भागमा पार्ने भनेर लेनदेन गर्न थालिसकेका प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान २०७२ ले कम्तीमा ४५ वर्ष उमेर  पूरा भएका र संघीय संसद्को सदस्य हुन योग्य भएका नेपाली नागरिक राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार हुन सक्ने व्यवस्था गरेको छ ।

वि.सं. २०६३ देखि हालसम्म राजनीतिक दलहरूले आफ्नै दलका सक्रिय कार्यकर्तालाई राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार बनाएर जिताउने काम गरेका छन् ।

डा. रामवरण यादव र विद्यादेवी भण्डारी क्रमशः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रपति भएका थिए ।

‘राष्ट्रपति पदको कार्यकाल समाप्त गरी सरकारी सुविधासहित अवकाश जीवन बिताइरहेका डा. यादव र वर्तमान राष्ट्रपति भण्डारी दुवैले राष्ट्रपति पदलाई मातृसंस्था (नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले) सँग रहेको दलीय सम्बन्धबाट के कति माथि राख्न सक्नुभयो ? भन्ने सवाल सबैसामु छर्लंग छ,’ विज्ञप्तिमा छ ।

विज्ञप्तिअनुसार राष्ट्रपतिबाट नियुक्त हुने पदहरूमा सक्षम, विज्ञ तथा असंलग्न पृष्ठभूमि भएका व्यक्तित्व हुनुपर्नेमा अन्यथा हुने गरेका कारण राष्ट्रपति पदमा आसीन व्यक्ति समग्र नेपालको राष्ट्राध्यक्ष भन्दा पनि पार्टी विशेषको हुन गएको अनुभव आम नेपालीको छ । 

अपिलकर्ता (वर्णानुक्रम र सुरक्षा निकायले लेख्ने शैलीअनुसार सूचीबद्ध गरिएको) 

१. आतिश कार्की, अधिवक्ता
२. आदित्यमान श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी
३. उद्धवप्रसाद ढुङ्गाना, सामाजिक अभियन्ता
४. डा. उपमा कार्की, दन्त चिकित्सक तथा सामाजिक अभियन्ता
५. कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता
६. डा. केशवचन्द्र शर्मा, सामाजिक अभियन्ता एवं किट विज्ञ
७. सहायक रथी डा. केशरबहादुर भण्डारी, (अ.प्रा.) नेपाली सेना 
८. सशस्त्र प्रहरी महानिरीक्षक, किशोर लामा,(अ.प्रा.), सशस्त्र प्रहरी बल, नेपाल    
९. डा. गौरी शंकरलाल दास, वरिष्ठ चिकित्सक
१०. डा.जगतकुमार भुसाल, नदी विज्ञान विज्ञ
११. प्राध्यापक डा. जर्नादन सुवेदी, मायामी युनिभर्सिटी योहायो, संयुक्त राज्य अमेरिका
१२. जयप्रकाश भुसाल, सामाजिक अभियन्ता
१३. जानकी पाण्डे, अधिवक्ता
१४. जीवराम भण्डारी, वरिष्ठ सञ्चारकर्मी
१५. ठमनाथ घिमिरे, सञ्चारकर्मी  
१६. तृप्ति  घिमिरे, अधिवक्ता
१७. डा.तिलकबहादुर श्रेष्ठ, सामाजिक अभियन्ता
१८. देवीराम शर्मा, पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
१९. द्वारिकानाथ ढुङ्गेल, सामाजिक अभियन्ता
२०. ध्रुवहरि अधिकारी, वरिष्ठ सञ्चारकर्मी
२१. नारायणराज तिवारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार
२२. प्रधान सेनापति, महारथी प्यारजङ्ग थापा (अ.प्रा.), नेपाली सेना
२३. पुष्पप्रसाद लुइँटेल, सामाजिक अभियन्ता
२४. महानिरीक्षक, प्रकाश अर्याल, (अ.प्रा.), नेपाल प्रहरी
२५. बलराम सापकोटा, सामाजिक अभियन्ता
२६. भरतबहादुर थापा, पूर्व अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेशलन नेपाल
२७. सहायक रथी तथा पूर्व राजदूत, भरतबहादुर रायमाझी, (अ.प्रा.) नेपाली सेना
२८. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, (अ.प्रा.), सशस्त्र प्रहरी बल, नेपाल
२९. राज थापा, सामाजिक अभियन्ता
३०. विदुरप्रसाद मैनाली, पूर्व उपमेयर काठमाडौं महानगरपालिका
३१. श्यामप्रसाद अधिकारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार
३२. सुकदेवभट्टराई खत्री, पूर्व निमित्त महालेखा परीक्षक, महालेखा परीक्षकको विभाग
३३. प्रा. डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता
३४. प्राध्यापक सुरेशराज चालिसे, जलवायु परिवर्तन विषय विज्ञ तथा सामाजिक अभियन्ता


Author

थप समाचार
x