चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् ।
नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले अबको सरकारले सुशासन कायम गर्ने पनि जिकिर गरे । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।
सोमबार अपराह्न प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए ।
त्यस्तै मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया