सरकार

अटेर गरे कारबाही गर्ने चेतावनी

स्वीकृतिविनै कुटनीतिक नियोग र नेतासँग नभेट्न सुरक्षा निकायका पदाधिकारीलाई गृहको निर्देशन

इकागज |
पुस १४, २०७९ बिहीबार १२:५८ बजे

काठमाडौं - गृह मन्त्रालयले विभागीय स्वीकृतिविना कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग र राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै स्वीकृतिविना भेटघाट नगर्न निर्देशन दिएको हो ।

निर्देशनविपरीत कार्य गरेको पाइए प्रचलित कानून बमोजिम अनुशासनसम्बन्धी कारबाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ । 'शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'साथै यस निर्देशनविपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'



Author

थप समाचार
x