भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ भन्छन् - विकास निर्माणका काममा सरकार तमासा हेरेर बस्दैन
फाइल तस्बिर
काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने चेतावनी दिए ।
विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहित सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको उनले बताए ।
मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायहरूका प्रमुखहरूसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए । उनले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याइँ र कमजोरी भएको छ खण्डमा सरकारले छुट नदिने बताए ।
उनले सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने बताए । सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम गर्ने पनि उनले बताए । गैर जिम्मेवारी काम गर्नेहरूलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने उनले चेतावनी दिए । ‘नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता छ । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको छ,' उनले भने, 'काठमाडौं उपत्यकाका सडकहरू मन्त्रालय अन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय बागमती सभ्यता अन्तर्गतका छन् । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने योजनामा काम गर्न खोजिरहेका छौँ । जनताले तिरेको करबाट हामीले सेवा-सुविधा लिइरहेका छौँ । कतैबाट हेलचेक्रयाइँ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ । तमासा हेरेर बस्ने स्थिति छैन । जनताले दुःख पाएका छन्, विकास निर्माणको अनुभूति गर्न पाएका छैनन् । तर पनि यस्तै हो भन्ने हुँदैन, सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया