सरकार

ऊर्जामन्त्री लिङ्देनकाे पहिलाे निर्णय

सिँचाइ क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल बनाउने

इकागज |
माघ ३, २०७९ मंगलबार १५:२० बजे

फाइल तस्बिर

काठमाडौँ- ​नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे ।


विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताए ।​

नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरे । उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरूको चलन रहेकाले आफूहरू पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री लिङ्देनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए ।


Author

थप समाचार
x