सरकार

जनयुद्ध दिवस

प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्तावमा सार्वजनिक बिदा : राप्रपा बैठकमै गएन, एमालेका मन्त्रीको असहमति

इकागज |
फागुन १, २०७९ सोमबार ७:६ बजे

फाइल तस्बिर

काठमाडौं - ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरू सहभागी भएनन् । बैठकमा सहभागी एमालेका केही मन्त्रीहरूले पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयमा असहमति प्रकट गरेका छन् ।

‘प्रधानमन्त्री कार्यालय, सिंहदरवारबाट १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने अजेन्डा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएर राप्रपाले असहमति जनाएको पार्टीका एक मन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयबाट आकस्मिक रुपमा मन्त्री परिषद् बैठक हुने  खबर आयो, हामीले कुन अजेन्डामा बस्न लागेको हो ? भनेर सोध्दा प्रधानमन्त्रीले फागुन १ लाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउने र सार्वजनिक बिदा दिने अजेन्डा तय भएको छ भन्ने जानकारी भएपछि हामी आइतबारको बैठकमा नै सहभागी भएनौं,’ राप्रपाका ती मन्त्रीले भने । 


बैठकमा सहभागी मन्त्रीहरूका अनुसार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिने प्रस्ताव ल्याएका थिए । प्रधानमन्त्री प्रचण्डले ल्याएको उक्त ठाडो प्रस्तावमा मुख्यतः परराष्ट्र मन्त्री विमला राई पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले धेरैवटा सार्वजनिक बिदा दिने निर्णय गर्दा सरकार विवाद पर्ने भन्दै ठाडो प्रस्ताव फिर्ता लिन अनुरोध गरेका थिए ।

उनका अनुसार दुई मन्त्रीले केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गर्ने अभिव्यक्ति स्मरण गराएका थिए । तर, प्रधानमन्त्रीे प्रचण्डले आफ्नो अधिकार प्रयोग गर्दै ठाडो आदेशमा १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गराएरपछि आज देशैभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

सरकारले १ फागुनलाई औपचारिक रुपमा ‘जनयुद्ध दिवस’ मनाउन लागेको यो पहिलो पटक हो । न्युज कारखाना


Author

थप समाचार
x