संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमका प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको उनले बताए । शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको तथ्यलाई सवैले आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया