सरकार

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौंः प्रधानमन्त्री दाहाल

इकागज |
फागुन ३०, २०७९ मंगलबार १२:३९ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । यस विषयमा कानून बनाएर संसद्‍बाट पारित गर्ने क्रममा रहेको उनको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे । 


चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे। 

उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे। 

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए । 

उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रूपमा राखेकाले चिनियाँ नागरिकहरू नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । 
 


Author

थप समाचार
x