सरकार

तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री

इकागज |
चैत १७, २०७९ शुक्रबार १३:५३ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन् । शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका हुन् । 

'बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ,' उनले भने, 'राजश्व संकलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन्। राहदानी, लाइसेन्स लगायतका काममा विगतको झन्झट हटेका छन्। यसलाई ठीक ढंगले बुझेर जनतामा लैजाउँ।'


सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएको उनको भनाइ छ । कानुन निर्माणका कामले समेत गति लिएको प्रधान्मन्त्री प्रचण्ले बताए । 'एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो,' उनले भने, 'त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ। आज सरकार बिस्तार भएपछि सरकारले गति लिन्छ।'

'नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ,' प्रधानमन्त्रीले भने, ''विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ। त्यसको विश्वव्यापी प्रभाव छ। रूस-युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढंगले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ।'


Author

थप समाचार
x