सरकार

बागदरबार-सिंहदरबार द्वन्द्वका १४ कारण

बालेन बोलिरहे, सरकारले सुनेको नसुन्यै गर्‍यो

इकागज |
चैत २७, २०७९ सोमबार ९:२४ बजे

काठमाडौँ - काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)को घोषणासँगै महानगरले आइतबारदेखि सिंहदरबारभित्रको फोहोर उठाउन छोडेको हो । मेयर शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने’ उनको टिप्पणी थियो । 

शाहको निर्देशनपछि आइतबार सिंहदरबारभित्रको फोहोर उठेको छैन । सिंहदरबारभित्र फोहोर थुप्रिन थालेको छ । 


सोमबार बिहानै बालेनलले सिंहदरबारको फोहोर नउठाउनुका कारण पेश गरेका छन् । फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेनले सिंहदरबारले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि बाध्य भएर फोहोर नउठाउने निर्णयमा पुगेको प्रष्टीकरण दिएका छन् । त्यसका लागि उनले उदारहणसहित विभिन्न दृष्टान्त पेश गरेका छन् । जनजीविकाका विभिन्न मुद्दामा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि बारम्बार वेवास्ता गरिएको उनको निष्कर्ष छ । 'सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ,' उनले भनेका छन्, 'संघीय सरकारकारूपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिसपछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।'

बागदरबारबाट पाँच सय मिटरको दुरीमा रहेको सिंहदरबारले जनजीविकाका सवालमा उठाएका मुद्दा सुनुवाइ नगरेको उनको भनाइ छ । '५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्दा अगाडि बढ्दैनन् र सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरूको सम्बोधनको अवस्था कस्तो होला ? उनको प्रश्न छ, 'जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्वीकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?'

उनले १४ मन्त्रालयमा विभिन्न मागहरू राखेर छलफल गरेको भए पनि कुनै सुनुवाइ नभएको बताएका छन् । 

जसका केही उदाहरणहरू :

१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी - ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा - दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन - दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल - दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम - २ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा - ४ मन्त्रीसँग पटक पटक पहल ।

८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन - दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् - २ मन्त्रीसँग पहल

१०. ऊर्जा मन्त्रालय : सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग - २ मन्त्रीसँग पहल

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल - २ मन्त्रीसँग पटक पटक पहल

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण - मन्त्रीसँग पटक पटक पहल

१३. सङ्घीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा - दुई मन्त्रीसँग पटक पटक पहल

१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण - मन्त्रीसँग पटक पटक पहल

५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरूको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्वीकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?

स्थानीय समस्याहरू स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।

यसैका लागि असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुइमत रहला ।

यो पनि 

सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा गरिएको थिएन : बालेन

१४ मन्त्रालयमा अड्‌कियो काठमाडौँ महानगरको थुप्रै काम (सूचीसहित)

बालेनको चेतावनीसँगै उठेन सिंहदरबारको फोहोर

संघीय सरकारमाथि मेयर बालेनको प्रहार : चीन र भारतले बनाएको सरकारको इज्जत गर्दिनँ

​- सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ

 

 

 

 

 


Author

थप समाचार
x