सरकार

नेपालले युएईलाई हराएपछि प्रधानमन्त्रीले भने- खेलाडीलाई थप प्रोत्साहन र पुरस्कृत गर्छु

इकागज |
बैशाख १९, २०८० मंगलबार १२:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल एसीसी एसिया कपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका छन् । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

'एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु' प्रधानमन्त्री प्रचण्डले भने 'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।'


नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । यसको अर्थ नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।

यूएईविरुद्ध जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जित दिलाउन गुल्सन झाले ६७ रन तथा भिम शार्कीले ३६ रन बनाए ।  


Author

थप समाचार
x