सरकार

सभामुखको बुँइ चढेरै दोस्रो पटक कोशी प्रदेशमा उद्धव थापाको सत्तारोहण

इकागज |
साउन १६, २०८० मंगलबार २०:१८ बजे

काठमाडौँ- सर्वोच्च अदालतले गत बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको पद बदर गरिदियाे । अदालतले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको नियुक्ति बदर हुने ठहर गरेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरेको थियो । उनी पदमुक्त हुनासाथ कोशी प्रदेश सरकारविहीन बनेको थियो ।


थापा मुख्यमन्त्रीबाट बर्खास्त भएसँगै संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई साउन १७ भित्र सर्वोच्चले मुख्यमन्त्री नियुक्त गर्न पनि भनेको थियो ।

थापा पदमुक्त बनेसँगै कोशी प्रदेश सरकार विवादित बन्यो । त्यसो त उनको मुख्यमन्त्री नियुक्ति नै असंवैधानिक रहेको भन्दै कार्यकाल आलोचित बनिरहेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमले उनलाई विश्वासको मत दिएपछि सरकारविरुद्ध चौतर्फी आवाज उठेको थियो ।

गत असार २१ मा सभामुखले थापालाई मन्त्री बनाउनका लागि हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री बन्न उनले संसद भित्रको सभामुख जस्तो जिम्मेवारी व्यक्तिको मत लिएका थिए ।

त्यसैगरी प्रदेश प्रमुख परशुराम खापुङले साउन १२ गते शुक्रबार मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न समयसीमा दिएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको समर्थन जुटाउन लागिरहे ।

कोशी प्रदेश सरकारविहीन भएपछि सत्ता गठबन्धनले पुनः नेतृत्व लिन चाहेपछि राजनीतिक जोडघटाउमा लागे । सरकारको नेतृत्व लिन गठबन्धनले विभिन्न चरणमा छलफल चलाए । 

सरकार गठनका लागि सत्ता गठबन्धनका सांसद र नेताले कोशी प्रदेश छाडे । उनीहरूको दौडधुप बालुवाटार र धुम्बाराही रह्यो । उनीहरूको अन्तिम सहमति बालुवाटारमा पुगेर भएको छ ।

पहिलोपटक थापा सभामुख गौतमको सहारामा मुख्यमन्त्री बने । पुनः उनकै बुँइमा चढेर सत्ताको शिखरमा उनी पुगेका छन् । गौतमलाई राजीनामा दिन लगाएर सत्ताको बागडोर थापाको हातमा पुगेको छ ।

सभामुख जस्तो जिम्मेवार पदलाई खेलौना सम्झेर सत्ताको भर्‍याङ उक्लेको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की बताउँछन् । जिम्मेवार बनाउनुपर्ने पदलाई बदनाम गर्ने काम भएको उनको भनाइ छ ।

‘सभामुखले दिएको राजीनामा मिलेको छैन,’ उनले भने,’ समयभित्रमा दिएर स्वीकृत भएको छैन । उपसभामुखलाई दिनुपर्थ्यो त्यसो पनि गरिएको छैन । अमर्यादित, अव्यवस्थित र कानुनी हिसाबले त्रुटिपूर्ण छ ।‘

कार्कीले केन्द्र र प्रदेशका सत्ता गठबन्धनले सभामुख पदको गरिमा समाप्त पारेको आरोप लगाए । ‘राजनीतिक रुपमा वितृष्णा जगाएको छ । जनताको टिप्पणी र आलोचनालाई यसले झन बल पुर्‍याउने काम गरेको छ,’ उनले अगाडि थपे,’ प्रदेशप्रति मानिसको नकारात्मकको धारणालाई अझ बढी बल पुगेको छ । अहिलेको घटना र समीकरणले देशलाई बर्बादीतर्फ लगेको छ ।‘

अधिवक्ता ओमप्रकाश अर्यालले सभामुखले राजीनामा दिएर समर्थन गर्न पाउने बताए । सभामुख पदमा रहेर कसैलाई समर्थन गर्न नपाइने उनको भनाइ छ । ‘ सभामुख पद परित्याग गरेकाले समर्थन गर्न कुनै बाधा अड्चन हुँदैन,’ उनले भने ।

राजनीतिक रुपमा सभामुखले पद त्यागेर सरकार निर्माणका लागि सहज बाटो निर्माण गरेको अर्यालले बताए ।

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापा योसहित दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।


Author

थप समाचार
x