सरकार

अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारितामा कुनै असर पर्दैन : सरकार

इकागज |
भदौ २२, २०८० शुक्रबार १६:५१ बजे

काठमाडौँ- सरकारले अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताएकी हुन् । उनले भ्रमणको उद्देश्य पूरा गर्ने मुख्य विषय भएको र अन्य विषय प्राविधिकमात्रै भएको जिकिर गरिन् ।


प्रवक्ता शर्माले चीन भ्रमणको एजेण्डा तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । भ्रमणका क्रममा दुईपक्षीय विषयका साथै कतिपय विषय ध्यानाकर्षणका रूपमा लैजाने तयारी भएको उनले बताइन् । त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण उचित नभएको भन्दै घटनाको अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले उद्योग मन्त्रालयमातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् । चीनमा भाद्र २६ देखि २९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने, न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणीन्द्र गौतमलाई न्याय सवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताइन् ।

त्यस्तै बैठकले सञ्चार मन्त्रालय अन्तर्गतका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन सचिवहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x