अहिले नै मन्त्रिमण्डल पुनःगठनको सम्भावना छैन : प्रम दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनःगठनको सम्भावना नरहेको बताएका छन् । आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारे । उनले मन्त्रिमण्डल पुनःगठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको जिकिर गरे ।
उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनःगठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो । तर, अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’
प्रधानमन्त्री दाहालले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरू छुटेको प्रति दुःख व्यक्त गरे । उनले आफूलाई दुई घण्टाअघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए ।
उनले भने, ‘यदी मलाई दुई २ घण्टाअघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिनँ थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’
प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्वपूर्ण प्रस्ताव र कुरा राखेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया