सरकार

प्रधानमन्त्रीले भने- रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको छ

इकागज |
मंसिर २५, २०८० सोमबार १५:४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । ​सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको जिकिर गरे । उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए ।


उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि जानकारी दिए ।

यस्तै प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । उनले गठबन्धनका बैठकहरू हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको भनाइ राखे ।

प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताए ।

 


Author

थप समाचार
x