सरकार

अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ : अर्थमन्त्री महत

इकागज |
मंसिर २७, २०८० बुधबार १३:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेको उनले बताए । सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।


त्यस्तै यस अवधिमा भन्सार महसुलतर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करीब ७.१९ प्रतिशत, आयकरतर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए ।

मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उनले बताए ।

त्यस्तै उनले विप्रेषणको आप्रवाह २०८० असोजसम्ममा ३०  प्रतिशले बढेकाले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिए । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको बताए ।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरू गरिएको भन्दै उनले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरू गरिएको जिकिर गरे । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको उनले बताए । 


Author

थप समाचार
x