सरकार

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा पर्यटन मन्त्री तामाङको शुभकामना

इकागज |
जेठ १६, २०८१ बुधबार ११:२ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय सगरमाथामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शुभकामना दिएका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै शुभकामना सन्देश दिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एडमण्ड हिलारीले २९ मे, १९५३ मा सफल आरोहण गरी सगरमाथाको चुचुरो चुमेको दिन अर्थात मे २९ लाई नेपालले सन् २००८ देखि प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आइरहेको उनको शुभकामना मन्तव्यमा उल्लेख छ ।


यसपाली पनि सरकारले "विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव" (Sagarmatha, the highest peak in the world: Identity and pride of Nepal) भन्ने नाराका साथ विविध कार्यक्रमहरूको आयोजना गरी भव्य रुपमा सगरमाथा दिवस मनाउने कार्यक्रम गरेको छ ।

'सर्वप्रथम म उक्त कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु, साथै उक्त दिनको अवसरमा संसार भर रहनुहुने पर्वतारोहणसँग सम्बद्ध व्यक्तित्व, पर्वतारोहण व्यवसायी, पर्वतारोहीलगायत यस क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहनुहुनेहरूमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु' मन्त्री तामाङले शुभकामना मन्तव्यमा भनेका छन् ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये नेपालमा मात्रै आठ वटा हिमालहरू रहेका छन् । साथै ६ हजार मिटरभन्दा अग्ला सयौंको संख्यामा हिमालहरू अवस्थित रहेका छन् । 'यसरी हेर्दा अन्तर्राष्ट्रिय सगरमाथा दिवस धेरै दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ' तामाङले भनेका छन् 'यसको प्रचारप्रसारबाट पर्वतारोहणमा रुचि राख्ने विश्वभरिका साहसी पर्यटकहरूलाई नेपाल भित्र्याउन पनि थप टेवा पुग्नेछ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीको कारण शिथिल हुन पुगेको समग्र पर्यटन व्यवसाय पुनरुत्थान हुदैँ गरेका केही संकेत देखिएको छ ।'

देशको अर्थतन्त्रको एक प्रमुख मेरुदण्डको रुपमा पर्यटनलाई स्थापित गर्न र दिगो पर्यापर्यटनको विकास गर्न सार्वजनिक क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, गैरसरकारी क्षेत्र तथा पर्यटन सम्बद्ध संघ/संस्थाहरूबीच मजबुत सहकार्य, सद्भाव तथा समन्वय गरी विश्व पर्यटन मानचित्रमा सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गरी बढी भन्दा बढी पर्यटक भित्र्याई थप रोजगारीका अवसरहरू सिर्जना गर्न सम्पूर्ण सरोकारवालाहरूको सार्थक सहयोग हुने विश्वास लिएको उनले बताए ।

र, यो पनि

 


Author

थप समाचार
x