भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज विहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सो अवसरमा दु ईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गर्नुभएको थियो ।
उहाँले सोमबार तत्कालिन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गरे । यसैगरी उनको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष स्वागत समारोह आयोजना गरेको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन सबै नेपालीलाई आव्हान गरे । सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।
यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ ग्ते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरे । साथै वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भने, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ । यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस् ।”
स्वीट्जरल्याण्डमा रहँदा उनी र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध, आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो ।
यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो । स्वीटजरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँको प्राचीन शहर पुरानो जेनेभाको भ्रमण गर्दै त्यँहास्थित ऐतिहासिक स्थलको अवलोकन गरे ।
त्यसैगरी उनी स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका थिए । सो क्रममा स्वीट्जरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा प्रस्थान गरेका हुन् । राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
भ्रमण सफल र उपलब्धिमूलक
उनका परराष्ट्र सल्लाहकार डा. सुरेशराज चालिसेले यो भ्रमणले बदलिदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । लामो समयपछि यूरोपका प्रभावशाली मुलुकका राष्ट्रप्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा. चालिसेले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको नेपालको ऐक्यवद्धता प्रदर्शित भएको बताए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण अन्यन्त सफल तथा फलदायी रहेको बताए । साथै अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित एवम विस्तार गराउन महत्वपूर्ण योगदान दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया