सरकार

गृहमन्त्री लामिछाने भन्छन्- जीबी राईको लोकेसन पत्ता लागिसक्यो

इकागज |
असार ६, २०८१ बिहीबार ११:१० बजे

चितवन- चितवन आएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् । 

बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेसन कन्फर्म गरिसकेको बताए ।


उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने- 'जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।' गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन ।


Author

थप समाचार
x