मन्त्रिपरिषद् बैठक
बाढीपहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने
२०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय
काठमाडौँ- सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रिपरिषद तथा मन्त्रिपरिषदका विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरूलाई दोश्रो र तेश्रो किस्ता उपलब्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएको छ भने एक महिनाभित्र केही फरक देखाउने गरी काम गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया