Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सरकार

निर्माणाधिन संसद्‌ भवनको काममा ढिलाईप्रति उपप्रधानमन्त्री सिंहले भने- श्रमिकको संख्या पुगेन, बढाउनुस् (भिडियो)

इकागज |
साउन १५, २०८१ मंगलबार १२:२३ बजे

काठमाडौँ- शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद्‌ भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् । काम गति सुस्त भएको गुनासोपछि आज निरिक्षणमा गएका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भएपनि बाँकी रहेको ९ महिनाको समयावधिभित्र काम सक्न निर्देशन दिएका छन् । 

त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्ने बताए । 


‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्‍यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भएपनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी रहेको सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले निरिक्षणपछि भने,‘समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्न पाए राम्रो हुन्थ्यो ।’

तर कन्ट्याक्ट अवधिभित्र काम सक्ने गरि कन्ट्याक्टरले काम गरेको नपाइएको भन्दै मन्त्री सिंहले असन्तुष्टि जनाउँदै तत्काल कामको तीव्रता बढाउन निर्देशन दिएका छन् । 

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तिमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए ।

प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाएर काम गर्नुपर्ने भन्दै उनले भने, ‘श्रमिकको संख्या पुगेन । कन्ट्राक्टरलाई अहिलेसम्म काममा भइरहेको ढिलाई कसरी पूर्ति गर्नुहुन्छ भनेर हामी छलफल गरिररहेका छौं । यसको समाधान गछौं ,’ उनले भने । 

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ।


Author

थप समाचार
x