सरकार

राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

इकागज |
साउन २६, २०८१ शनिबार १०:५८ बजे

काठमाडौँ- उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

'सरकारले अहिले समाजमा देखिएको  निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ' उपप्रधानमन्त्री सिंहले भने 'सरकार गठनअघि  देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईंहरूलाई थाहै छ ।'


आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले  क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए । 

अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले  जनमतको उपेक्षा गर्दै केही दलहरूले  निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस-एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको  सिंहले दोहोर्‍याए ।

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यम भएपनि दुरूपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे । कार्यक्रममा बागमती प्रदेशका मन्त्री हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेलाई पनि सम्मान गरिएको थियो ।


Author

थप समाचार
x