मन्त्रिपरिषद बैठक
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत
काठमाडौँ- सरकारले एसियाली विकास बैंकबाट सिँचाइ परियोजनाका लागि सहुलियत ऋण र अनुदान स्वीकार गर्ने भएको छ ।
साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै भूउपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिम भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ भने निजामती सेवाको प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया