सरकार

नुवाकोटको कारागार कैदीबन्दी थुन्‍न मात्रै प्रयोग हुन्‍न - गृहमन्त्री लेखक

इकागज |
भदौ १५, २०८१ शनिबार २०:३० बजे

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन् । 

'गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येको एक हो । यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौं । यहाँ प्रशस्त जग्गा छ,' उनले भने 'त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ ।' 


कारागारमा ठुलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । 'यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ,' गृहमन्त्री लेखकले भने । 

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो । 'अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ । संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ ।  त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ,'  उनले भने । 

२८ हजार कैदीबन्दी रहेकामा  १२-१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीको चाप घट्ने गृहमन्त्री लेखकले बताए । 

'अत्यन्त कम भौतिक संरचनामा कैदीबन्दी राख्नु परेको छ । यो जटिलतालाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले नुवाकोटमा ७ हजार कैदीबन्दी अटाउने कारागार निर्माणको योजना बनायो । अब कैदीबन्दीको चाप घट्ने छ,' उनले भने ।
 


Author

थप समाचार
x