सरकार

भारत भ्रमणमा हवाई रुटबारेमा सकारात्मक छलफल भयो : परराष्ट्रमन्त्री राणा

इकागज |
भदौ १८, २०८१ मंगलबार १३:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटका बारेमा सकारात्मक छलफल भएको बताएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले भारतसँग हवाइ रुटको बारेमा कुरा राखेको र टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।


भैरहवा र महेन्द्रनगर हवाई रुटका बिषयमा आफुले भारतसँग कुरा गरेको उनले बताइन् । त्यस्तै उनले पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अघि बढाउने कुरा भएको जानकारी दिइन् ।

इपीजी बिषयमा भने कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा छलफल गर्ने उल्लेख गरिन् ।

त्यस्तै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणासहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले जानकारी दिइन् । 


Author

थप समाचार
x