सरकार

कञ्चनपुर पुगेर गृहमन्त्री लेखकले भने- निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ

इकागज |
भदौ २०, २०८१ बिहीबार १०:४० बजे

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । 'यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ' उनले भने । 


त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए । 'कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।' उनले भने, 'निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।' 

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । 'दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ' गृहमन्त्री लेखकले भने 'छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।'

पत्रकार सम्मेलनमा उनले संसद्‌मा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकाले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । 'दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ ।' उनले भने, 'यो गठबन्धन आगामी चुनावसम्म जान्छ यसमा ढुक्क हुनुस् ।' 

तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरेका छन् । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।


Author

थप समाचार
x